बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट, खाल बस्ने ५२ बर्षीय देवानसिंह साउँद मृत फेला परेका छन् ।
बुधबार साँझदेखि हराइरहेका साउँद शुक्रबार दिउँसो खाल नजिकैको भीरमा मृत फेला परेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
बुधबार दिउँसो ४ बजेतिर घरबाट मासु ल्याउन जान्छु भनेर नजिकैको पसलमा गएका साउँद सोही ठाउँबाट हराएका थिए । उनले पसलमा मदिरा सेवन गरेको र पसलबाट घर जान्छु भनि फर्केका भएपनि उनी घर नफर्केपछि खोजतलास गरिएको थियो ।
साउँदको खोजीका लागि प्रहरीमा समेत निवेदन दिएको थियो । साउँदको खोजी गर्दै जाँदा शुक्रबार दिउँसो लास फेला परेको गाउँपालिका अध्यक्ष साउँदले बताए ।
पसलबाट घर जान्छु भनेर हिँडेका साउँद अर्कै ठाउँमा मृत फेला परेपछि परिवारजनले हत्याको आशंका गरेका छन् । उनीहरुले घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका गाउँपालिका अध्यक्ष साउँदले बताए ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको गाउँपालिका अध्यक्ष साउँदले बताए ।




