Sagun Khabar
आमा–बुवा गुमाएका बैतडीका नवीन र गौराको घर निर्माणमा राप्रपा नेता चन्दको सहयोग 

बैतडी–बैतडीको पाटन नगरपालिका–४ ज्यौडेका टुहुरा बालबालिका नवीन लावड र गौरा लावडका लागि घर निर्माण कार्यमा राप्रपा नेता भुपेनबहादुर चन्दले सहयोग गरेका छन् । 

नवीन र गौराका लागि घर निर्माण कार्य जारी रहेको र उक्त घरमा निर्माणमा राप्रपाका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार समेत सिफारिश भएका चन्दले भुमेश्वर मायाघर मार्फत १० बोरा सिमेन्ट सहयोग गरेको बताइएको छ । 
घर निर्माणमा आवश्यक सिमेन्ट आज भुमेश्वर मायाघरका सञ्चालक मानबहादुर चन्दलाई हस्तान्तरण गरिएको हो । 

नवीन र गौराका आमाको ६ बर्ष अघि र बुवाको चार बर्ष अघि मृत्यु भएको थियो । घरवार विहिन दुवै जनाको घर निर्माणका लागि सहयोग अभियान सञ्चालन गरेर गत जेठदेखि घर निर्माण कार्य शुरु गरिएको थियो । भुमेश्वर मायाघरले अभियान सञ्चालन गरेर उनीहरुको घर निर्माण सघाइरहेको हो । अहिले उनीहरुको घर निर्माण कार्य जारी रहेको छ । सिमेन्ट प्राप्त भएपछि अब घर निर्माण कार्य अघि बढ्ने भुमेश्वर मायाघरका सञ्चालक चन्दले बताए । 

अभिनेता समेत रहेका राप्रपा नेता चन्दले यसअघि पनि घर निर्माणका लागि ३ हजार नगद सहयोग गरेका थिए । घर निर्माणमा अहिलेसम्म १ लाख रुपैयाँसम्म नगद संकलन भएको र उक्त रुपैयाँले घर निर्माणका सामग्री खरीद गरिएको चन्दले बताए । 

नवीन र गौराका लागि दुई कोठे घर र शौचालय निर्माणको काम जारी रहेको बताइएको छ । उक्त घर निर्माण कार्य सम्पन्न गर्नका लागि अझै सहयोगको आवश्यकता रहेको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update