Sagun Khabar
सिद्धकेदार आधारभूत विद्यालयको बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको पाटन नगरपालिका–४ चिल्लेपानीस्थित सिद्धकेदार आधारभूत विद्यालयको २९ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारदसिंह ऐरीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा भुमेश्वर मावि ठाँडका सहायक प्रधानाध्यापक मदनसिंह ऐरी प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक चक्रबहादुर ऐरीले आर्थिक, भौतिक र शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रधानाध्यापक ऐरीका अनुसार विद्यालयमा गत आर्थिक बर्षको आय रकम ३१ लाख ४ हजार ५४६ रुपैयाँ रहेको छ भने खर्च रकम २६ लाख १४ हजार ९९६ रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा बचत रकम ४ लाख ८९ हजार ५७७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

चालु आर्थिक बर्षको अहिलेसम्म आय रकम १२ लाख ६६ हजार ८०५ रुपैयाँ रहेकोमा खर्च रकम ८ लाख १ हजार ५२८ रुपैयाँ रहेको छ । चालु आर्थिक बर्षको अहिलेसम्म बचत रकम ४ लाख ६५ हजार २७७ रुपैयाँ रहेको प्रधानाध्यापक ऐरीले बताए । 

कक्षा ५ सम्मको पढाइ हुने उक्त विद्यालयमा अहिले ४५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा अनुसार शिक्षकको अभाव झेल्दै आएको विद्यालयमा भौतिक संरचनाको समेत अभाव रहेको प्रधानाध्यापक ऐरीले बताए । 
बार्षिकोत्सव समरोहमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारदसिंह ऐरीले विद्यालयको सर्वाङ्गीण विकासमा सबैको सहयोग आवश्यक रहेको बताए । 

बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 

बार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको विद्यालयका शिक्षक बलराज भट्टले बताए । 

सिद्धकेदार आधारभूत विद्यालयको बार्षिकोत्सव समारोहमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update