बैतडी –बैतडीको मेलौली नगरपालिका–२ स्थित केदारेश्वर मावि दुर्गास्थानको ७३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरदत्त पाण्डेयको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्ट बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयको प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक हरिश चन्दले विद्यालयमा कक्षा १२ सम्मको पढाइ भइरहेको बताएका छन् ।
बार्षिकोत्सव अवसरमा स्थानीय अभिभावक महेन्द्रदेव पाण्डेयले २२ जनालाई सम्मान गरेका छन् । जेष्ठ नागरिक, दलित र अपांगता भएका व्यक्तिहरुलाई उनले व्यक्तिगत रुपमा नगद र खादासहित सम्मान गरेका हुन् ।
यस्तै बार्षिकोत्सव समारोहमा कपडा बैंक बैतडीकातर्फबाट १८ जना गरिब विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको छ । कपडा बैंकका सञ्चालक महेशदत्त भट्टले विद्यार्थीहरुलाई कम्बल वितरण गरेका हुन् ।
बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगितामा ६ ओटा विद्यालयले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा केदारेश्वर मावि दुर्गास्थान प्रथम, धर्मघर मावि सलेना दोश्रो र कैलपालेश्वर मावि ऐँचेकाँडा तेश्रो भएका स्थानीय अभिभावक देवदत्त ओझाले बताए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्रा र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको शिक्षक प्रेमराज भट्टले बताए ।
बार्षिकोत्सव समारोहमा बोल्दै नगर प्रमुख भीमबहादुर चन्दले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे । यसका लागि नगरपालिकाबाट गर्न सकिने सबै सहयोग रहने उनले बताए ।




