बैतडी –पहिरोका कारण घरवार विहिन भएका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
बैतडीको सुर्नया गाउँपालिका–२ कटनोलीका रेखा चन्द र ग्रीस चन्दलाई घर पुनर्निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड सतबाँझ शाखाका प्रबन्धक गोविन्द बिष्टले बताए ।
गएको भदौ १५ गतेको अविरल बर्षासँगै आएको पहिराले दुवै जनाको घर बगाएको थियो । घर बगाएपछि उनीहरु सतबाँझमा अर्काको घरमा बस्दै आएका छन् । घरवारविहिन भएका मध्ये रेखा चन्द एकल महिला समेत रहेकी छन् ।
घरवारविहिन भएका दुवै जनालाई एक÷एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बिष्टले बताए ।
सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेशबहादुर बिष्ट र बैंकका शाखा प्रबन्धक बिष्टले संयुक्त रुपमा प्रभावित परिवारलाई आज चेक हस्तान्तरण गरेका हुन् ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् प्रभावित परिवारलाई घर पुनर्निमाणका लागि आर्थिक सहयोग गरेको हो ।
पहिरोे प्रभावित परिवारलाई यसअघि सुर्नया गाउँपालिकाले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको थियो भने वडा नं २ को कार्यालयले दुवै परिवारलाई ५० ÷५० हजारका दरले एक लाख रुपैयाँ सहयोग गरेको थियो ।
पहिरोबाट घरवारविहिन भएकाहरुको जमीन समेत नभएकाले घर बनाउन समस्या भएको छ । उनीहरुको घर निर्माणका लागि जमीनको खोजी भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।




