बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत बिरसिंह भण्डारीलाई खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पौष १४ गते निर्णय गर्दै शहरी विकास मन्त्रालय अन्तर्गत कार्यरत रहेका शाखा अधिकृत भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजीम भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएको हो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएसँगै अब पालिकाका कामहरु अघि बढ्ने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
यसअघि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने भन्दै अध्यक्ष चन्दले मन्त्रालय धाएका थिए । एक महिनासम्म प्रयास गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत नखटाएपछि मन्त्रालयमा धर्ना बस्ने चेतावनी समेत दिएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको मनलाग्दी सरुवा गर्ने गरेकाले स्थानीय तहहरु समस्यामा परेका अध्यक्ष चन्दको भनाइ रहेको छ ।





