कैलाली –कैलालीको गेटा अस्पतालमा दूरबीन विधिबाट शल्यक्रिया सेवा शुरु भएको छ । अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोदकुमार यादवले दूरबीन विधिबाट बुधबार पहिलो शल्यक्रिया गरिएको बताए ।
डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बुधबार डडेलधुराको अमरगढी नगरपालिका–९ ढाँटगाउँ स्थायी बसोबास भएर कैलालीको गोदवरीमा श्रीमान छाराछोरीसँग भाडामा बस्दै आएकी ४५ वर्षीया कमला दमाईको पित्तथैलीको शल्यक्रिया गरेको हो । दमाई लामो समयदेखि पित्तको थैलीको पथरीबाट पीडित थिइन् ।
ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादव, सर्जन डाक्टर विजय भट्ट, एनेस्थेसियोलोजिष्ट डाक्टर रोजी जोशी र नर्सद्वय रेबिका विष्ट र आरती भण्डारी सहितको स्वास्थ्यकर्मीको टोलीले कमलाको दूरबीन विधिबाट शल्यक्रिया गरेको हो । अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादवले गेटा अस्पतालमा पहिलो पटक दूरबीन विधिबाट शल्यक्रिया गरिएको बताए । उनले अस्पतालको सेवा विस्तार भईरहेको बताए। गेटा अस्पतालमा पछिल्लो समय बिरामी भर्ना पनि हुन थालेका छन् ।
बिरामी कमलाका श्रीमान रामचन्द्र दमाईले गेटामा पहिलो पटक आफ्नो श्रीमतीको शल्यक्रिया भएकोमा खुशी व्यक्त गरे ।
निजी अस्पतालमा यस्तो शल्यक्रियाको औषधि र भर्ना शुल्कसहित कम्तीमा पनि एक लाखको उपचार खर्च आउने गर्छ । तर गेटामा भने यस्तो शल्यक्रियाको औषधि, बेड शुल्कसहित ३५ र ४० हजारभित्रै उपचार हुने अस्पताल प्रशासनले जनाएको छ ।




