Sagun Khabar
बैतडीको भुवनेश्वर माविको प्रधानाध्यापकमा फेरि अवस्थी नियुक्त 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि पत्थरकोट, चौथालीको प्रधानाध्यापकमा फेरि नन्दराम अवस्थी नियुक्त भएका छन् ।  

तीन दशकदेखि विद्यालयको नेतृत्व गरिरहेका अवस्थीलाई विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार फेरि प्रधानाध्यापक पदमा नियुक्त गरिएको हो । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले उनलाई प्रधानाध्यापकमा नियुक्त भएको पत्र प्रदान गरेका हुन् । 

२०५० सालदेखि निरन्तर प्रधानाध्यापक पदमा रही काम गरिरहेका अवस्थीले समाजशास्त्र बिषयमा स्नातोकोत्तर गरेका छन् । विद्यालय परिवारले गरेको विश्वासलाई कायम राख्दै विद्यालयको सर्वाङ्गीण विकासमा आफूले ध्यान दिने प्रधानाध्यापक अवस्थीले बताए । 

२०२७ सालमा स्थापना भएको भुवनेश्वर माविमा अहिले कक्षा १० सम्मको पढाइ हुने गरेको छ । शुरुमा कक्षा ५ सम्मको पढाइ हुने विद्यालयमा २०५४ सालदेखि कक्षा ८को पढाइ शुरु गरिएको थियो । 

प्रधानाध्यापक अवस्थीकै पालमा विद्यालयले २०६७ सालदेखि कक्षा १० सम्मको पढाइ शुरु गरेको हो । भुवनेश्वर माविलाई नमूना बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने प्रधानाध्यापक अवस्थीले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update