Sagun Khabar
बैतडीमा थपिए पाँच मतदान केन्द्र 

बैतडी –आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि बैतडीमा ५ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन कार्यालय बैतडीका अनुसार जिल्लाको सिगास गाउँपालिका वडा नं ४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका वडा नं ७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका वडा नं ९को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका वडा नं  ३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका वडा नं ५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।

यसैगरी एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका वडा नं २ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुई वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र काटिएको हो ।

गएको निर्वाचनमा २ सय १० ओटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २ सय १४ ओटा मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदानस्थल भने साविककै १ सय २९ नै कायम रहेका उनले बताए । 

जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने निमित्त कार्यालय प्रमुख जोशीले बताए ।  

जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण संकलनको काम भइरहेको  जनाएको छ । स्थानीय, प्रदेश र संघ मातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाआश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको निर्वाचन कार्यालय निमित्त प्रमुख जोशीले बताए । 

बैतडीमा आगामी निर्वाचनका लागि १ लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । यो बर्ष ६ हजार २१६ मतदाता थपिएका बताइएको छ । यसअघि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update