बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय स्थापना कार्य जारी रहेको छ ।
दुर्गम क्षेत्रमा पठन संस्कृतिको विकास गर्ने र विभिन्न पुस्तकहरु सहजै उपलब्ध गराउने उद्देश्यसहित विद्यालयमा पुस्तकालय स्थापना भइरहेको विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले बताए ।
गएको असोज ६ गतेदेखि पुस्तकालयको शुरुवात गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जमा भइसकेका उनले बताए । पुस्तकालयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पुस्तक सहयोग गरिरहेका छन् ।
पुस्तकालयका लागि पुर्चौंडी घर भइ विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढीले पुस्तक उपलब्ध गराएका प्रधानाध्यापक नागरीले बताए । पुस्तकालयमा धार्मिक, शैक्षिक, विभिन्न संविधान, ऐन, कानुन लगायतका पुस्तकहरु राखिएका छन् ।
पुस्तकालयमा १० हजार पुस्तक पुर्याउने लक्ष्य रहेको र सोही अनुसार कार्य अगाडि बढीरहेको प्रधानाध्यापक नागरीले बताए ।
पुस्तकालयबाट पढ्नका लागि फिर्ता गर्ने शर्तमा पुस्तक लग्न पाइनेछ भने पुस्तकालयमै पनि पढ्न सक्ने व्यवस्था मिलाइएको छ ।
आइतबार मात्रै सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका छन् ।
शिक्षा क्षेत्रको पहुँचलाई विस्तार गर्ने उद्देश्यसहित पुस्तकालय स्थापनाको जमर्को गरेको प्रधानाध्यापक नागरीले बताए । उनले भने, ‘हामीले दुर्गम क्षेत्रमा नमूना पुस्तकालय बनाउने अभियान सञ्चालन गरेका छौं । यसमा सबैको सहयोग आवश्यक छ । त्यसैले सहयोगका लागि आग्रह गर्दछौं ।’




