कैलाली –सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख)मा विजयी भएका चौधरी सोमबार रास्वपामा प्रवेश गरेका हुन् ।
नाउपाका पूर्वनेतृत्वहरू, थरुहट–थारुवान अभियान्ताहरू र रास्वपाबीच आज भएको समायोजनसभामा चौधरी पनि सहभागी छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा विजयी भएका चौधरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि बनिसकेका छन् ।
यस्तै, तत्कालीन नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित पनि रास्वपा प्रवेश गरेका छन् । सोही पार्टी नेताहरू राजेश अधिकारी, कोमल ज्ञवाली, ठाकुरसिंह थारु, थरुहट नेता लक्ष्मण थारु, तुलसी चौधरी, सुरेन्द्र चौधरी पनि रास्वपामा प्रवेश गरेका छन् ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता गरेकी थिइन् । पार्टीभित्र कुनै सल्लाह नगरी एकता गरेको भन्दै सुदूरपश्चिमका नेताहरू असन्तुष्ट छन् । सुदूरपश्चिम प्रदेशसभामा मात्रै नाउपाका सात जना सांसद थिए ।




