बैतडी–बैतडीको सुर्नया गाउँपालिका गएको दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गएको कार्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएको थियो । त्यसयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ ।
गएको पौष ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत खगेन्द्र भारतीलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । तर भारती गाउँपालिकामा हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा भएको छ । भारती जिल्ला निर्वाचन कार्यालयमा आइसकेका छन् ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा समेत समस्या समाधान नभएको उनले बताए । उनले भने, ‘गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ । मन्त्रालयमा पटक–पटक जानकारी गराइसकेका छौं । हालसम्म केही व्यवस्था भएको छैन् ।’
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरुको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता लगायत निकासामा समस्या पैदा भएको छ । यस्तै विकास निर्माणका कामहरु समेत सुचारु गर्न असहज भएको बताइएको छ ।
गाउँपालिकामै कार्यरत कर्मचारीहरु समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन अनिच्छुक रहेका पाइएको छ ।
सुर्नया गाउँपालिकामा विभिन्न माग राखेर जेनजी समूहको अगुवाईमा ३९ दिन तालाबन्दी गरिएको थियो । उनीहरुका माग सम्बोधन गर्ने सहमतिपछि तालाबन्दी खोलिएको थियो । तर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा केही काम अगाडि बढाउन नसकिएको अध्यक्ष कुँवरले बताए । उनले भने, ‘निर्वाचन नजिक आइरहेको छ । अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था हुन सकेको छैन् । निर्वाचन आचारसंहिता जारी भएपछि कर्मचारीको सरुवा हुँदैन् । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन मन्त्रालयमा फेरि आग्रह गरेको छु ।’
सामाजिक सुरक्षाभत्ता समयमा नपाउँदा लाभग्राहीहरु पनि निराश भएका छन् । यसअघि तालाबन्दीका कारण सामाजिक सुरक्षा भत्ता निकासामा ढिलाइ गरेको गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको जनाएको छ ।




