Sagun Khabar
दोगडाकेदार गाउँपालिकाको गाउँ सभा सम्पन्न

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । 

गाउँ सभाको १६ औं अधिवेशन चालु आर्थिक बर्षको अर्धबार्षिक समीक्षा गर्दै सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले बताए । 

गाउँ सभामा चालु आर्थिक बर्षको अहिलेसम्म सम्पादन भएका कामहरुको समीक्षा र आगामी दिनमा गर्न सकिने कामहरुको बारेमा छलफल भएको उनले बताए । 

दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक बर्षको अहिलेसम्म पूँजीगत बजेट ४ प्रतिशतमात्रै खर्च भएको जनाएको छ । चालु बजेट भने २७ प्रतिशत खर्च भएको छ । 

पूँजीगत खर्च बढाउने बिषयमा गाउँ सभामा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । विकास निर्माणका कामहरु सञ्चालनका लागि अधिकांश उपभोक्ता समितिहरु गठन भइसकेका र सम्झौता गरेर काम अघि बढाउने तयारी भएको उनले बताए । 

यस्तै गाउँ सभाले विभिन्न समयमा कार्यपालिकाले गरेका निर्णयहरु अनुमोदन समेत गरेको छ । 

सभामा गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले पूँजीगत खर्च बढाउने गरि काम गर्न निर्देशन दिएका छन् । 

अध्यक्ष कार्कीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष पार्वती कार्की, वडा अध्यक्ष, कार्यपालिका सदस्य र गाउँ सभा सदस्यहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update