बैतडी–बैतडीको सुर्नया गाउँपालिका–७ स्थित शिखरपुर स्वास्थ्यचौकीमा नसर्ने रोगको चेकजाँच तथा परामर्श शिविर सञ्चालन गरिएको छ ।
आज सञ्चालन गरिएको शिविरमा ३३ जना पुरुष र ५७ जना महिला गरी ९० जनाले सेवा लिएको स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए ।
स्वास्थ्य कार्यालयको आयोजना र शिखरपुर स्वास्थ्यचौकीको समन्वयमा सञ्चालन भएको शिविरमा जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर पविन उपाध्याय लगायतको टोलीले बिरामीहरुको चेकजाँच गरेको थियो ।
शिविरमा सुगरको चेकजाँच र औषधी वितरण, उच्च रक्तचाप चेकजाँच र औषधी वितरण, श्वासप्रश्वास सम्बन्धी रोगको चेकजाँच र औषधी वितरण तथा क्यान्सरको स्क्रीनिङ गरिएको बोहराले बताए ।
दुर्गम क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घरदैलोमा बिशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य कार्यालय शिविरको आयोजना गर्दै आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।




