Sagun Khabar
बैतडीका दुईसहित सुदूरपश्चिमका ६ स्थानीय तह गरिबीको शीर्ष –१० सूचीमा

बैतडी–राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०८२’ प्रतिवेदनले नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि देखाएको छ । प्रतिवेदनअनुसार शहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् । 

प्रतिवेदनले सार्वजनिक गरेको विवरण अनुसार गरिबीको दर सबैभन्दा बढी रहेका १० स्थानीय तहमध्ये बैतडीका दुईसहित ६ ओटा सुदूरपश्चिम प्रदेशका रहेका छन् । यसले सुदूरपश्चिममा गरिबीको समस्या अझै चुनौतीपूर्ण अवस्थामा रहेको देखाएको छ । 

तालिकाअनुसार अछामको ढकारी गाउँपालिका गरिबीको दर उच्च रहेको स्थानीय तहको सूचीमा तेस्रो स्थानमा छ । यस्तै बैतडीको सिगास गाउँपालिका चौथो र शिवनाथ गाउँपालिका दशौं स्थानमा परेको छ । 

यस्तै अछामको कमलबजार नगरपालिका पाँचौँ स्थानमा रहेको छ भने डोटीको शिखर नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिका क्रमशः सातौँ र आठौँ स्थानमा रहेका छन् । 

बढी गरिबीको दर भएको दश पालिकाको सूचीमा चौथो स्थानमा रहेको बैतडीको सिगास गाउँपालिकामा गरिबीको दर ६६ दशमलव ८ प्रतिशत छ । यो पालिकाको जनसंख्या २१ हजार ८१४ रहेकामा गरिबको संख्या १४ हजार ५८६ छ ।

यस्तै दशौं स्थानमा रहेको स्थानमा रहेको बैतडीको शिवनाथ गाउँपालिकामा ६४ दशमलव ७ प्रतिशत गरिबीको दर छ । पालिकाको कुल जनसंख्या १८ हजार ६४ मध्ये गरिबको संख्या ११ हजार ५७३ रहेको तथ्याङ्क छ । 
अछामको ढकारी गाउँपालिकाकोमा गरिबीको दर ७० दशमलव ५७ प्रतिशत छ । यो पालिकाको कुल जनसंख्या २१ हजार ९९८ मध्ये १४ गरिबको संख्या १५ हजार ५२५ छ ।

बढी गरिबीको दर भएका मुलुकभरका दश स्थानीय तहको पाँचौ स्थानमा रहेको अछामको कमलबजार नगरपालिकामा गरिबीको दर ६६ दशलव ८ प्रतिशत छ । यो पालिकाको जनसंख्या २१ हजार ३२ मध्ये गरिबको संख्या १४ हजार ४९ जना छ ।

मुलुकभर बढी गरिबीको दर रहेको दश पालिकाको सूचीमा सातौं स्थानमा रहेको डोटीको शिखर नगारपालिकामा गरिबीको दर ६५ दशमदव ३४ प्रतिशत छ । यो पालिकाको जनसंख्या ३० हजार ३९९ मध्ये गरिबको संख्या १९ हजार ८६३ रहेको तथ्याङ्क छ ।

यस्तै, बढी गरिबीको दर रहेको देशभरका पालिका मध्ये आठौं स्थानमा रहेको बाजुराको त्रिवेणी नगरपालिकामा गरिबीको दर ६५ दशमल १७ प्रतिशत छ । त्रिणेणीको कुल जनसंख्या १७ हजार ७८९ रहेकामा गरिबको संख्या ११ हजार ५९९ छ । 

प्रतिवेदनले अछाम जिल्लामा गरिबीको दर ४९ दशमलव ५८ प्रतिशत रहेको उल्लेख गरेको छ । यस्तै  बैतडी, बाजुरा, डोटी र बझाङ जिल्लामा पनि गरिबीको रेखामुनि रहेको जनसंख्या उल्लेख्य रहेको प्रतिवेदनले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार क्षेत्रगत, भौगोलिक र संरचनागत कारणले सुदूरपश्चिमका पहाडी तथा दुर्गम स्थानीय तहहरूमा गरिबीको दर उच्च देखिएको हो ।  प्रतिवेदनले गरिबी न्यूनीकरणका लागि लक्षित कार्यक्रम, रोजगारी सिर्जना, आधारभूत सेवा विस्तार र स्थानीय उत्पादन प्रवद्र्धनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update