बैतडी –नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष एवं नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बिशेष महाधिवेशनले कांग्रेसमा प्राण भरेको दाबी गरेका छन् ।
भृकुटीमण्डपमा आइतबार आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रहेको र यो अभियानले प्राण भरेको टिप्पणी गरेका हुन् । उनले चार महिनासम्म थलिएको पार्टीलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका अभियानकर्ताहरूले नयाँ प्राण भरेको दाबी गरे ।
कांग्रेसलाई जिवन्त बनाउने अभिायानका रुपमा बिशेष महाधिवेशनलाई लिएको बताउँदै उनले यो अभियानमा लागेकालाई सम्मान रहेको बताए ।
ऐतिहासिक रूपमा देशको अभिभावकत्व ग्रहण गर्दै आएको कांग्रेस पछिल्लो समय दिशाहीन बनेको उल्लेख गर्दै चन्दले अब पार्टी पुनः अभिभावककै भूमिकामा फर्कन लागेको बताए । उनले पार्टीलाई ब्युँझाउन भूमिका खेल्ने दुवै महामन्त्री र पार्टी सुदृढीकरण अभियानमा लागेका अभियन्ताहरूको प्रशंसा गरे ।




