Sagun Khabar
बैतडी जिप दुर्घटना अपडेट : मृतक तीन जनाको परिचय खुल्यो 

बैतडी–बैतडीमा जिप दुर्घटना परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ । 

आज बिहान भएको जिप दुर्घटनामा परी सिगास गाउँपालिका –१ का २४ निशान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो । 

जिप आँफै अनियन्त्रित भएर सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरी निरीक्षक सिंहले बताए । 

जिपमा सवार अन्य सबै घाइते रहेका र घाइतेहरुको संख्या पनि एकीन हुन बाँकी रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update