बैतडी–बैतडीको एक सहकारी संस्थाको अध्यक्ष पदका लागि चुनाव हुने भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं, मेलाखानस्थित जनकालिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदका लागि चुनाव हुने भएको हो ।
यही पौष २६ गते भएको बार्षिक साधारण सभामा अध्यक्ष पदमा सहमति नजुटेपछि दुई जना चुनावी मैदानमा उत्रेका छन् । शुरुमा चार जनाले अध्यक्ष पदमा आकांक्षा राखेपनि दुई जनाले उम्मेदवारी फिर्ता लिएको सहकारी संस्थाका कार्यकारी प्रमुख प्रेमसिंह बोहराले बताए ।
अध्यक्ष पदका आकांक्षी केशवबहादुर बोहरा र डम्मरबहादुर बोहराले उम्मेदवारी फिर्ता लिएका छन् भने मनोजबहादुर बोहरा र प्रकाशबहादुर बोहरा चुनाव लड्ने भएका छन् ।
आगामी माघ ३ गते अध्यक्ष पदका लागि निर्वाचन समितिले चुनावको मिति तोकेको कार्यकारी प्रमुख बोहराले बताए । सहकारी संस्थाको नयाँ अध्यक्ष चयनका लागि सहकारी संस्थाका सबै ८६२ जना शेयर सदस्यहरुले मतदान गर्न पाउने बोहराले बताए । अध्यक्ष बाहेकका अरु पदमा ११ जना सर्वसम्मत चयन भइसकेका कार्यकारी प्रमुख बोहराले बताए ।
यसअघि २०७८ सालमा पनि नयाँ अध्यक्ष चयनका लागि निर्वाचन भएको थियो । त्यो बेला खडकबहादुर बोहरा अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेका आकांक्षी प्रकाशबहादुर बोहरा २०७८ सालमा पनि सहकारी संस्थाको अध्यक्ष पदका उम्मेदवार रहेका थिए ।
२०५६ सालदेखि सञ्चालनमा रहेको जनकालिका बचत तथा ऋण सहकारी संस्था जिल्लाकै अब्बल सहकारी संस्थाको रुपमा रहेको छ ।
जनकालिका बचत तथा ऋण सहकारी संस्थामा ३ करोड ६२ लाख ५५ हजार ३५६ रुपैयाँ बचत रकम रहेको छ भने ४ करोड २५ लाख १२ हजार ६०६ रुपैयाँ ऋण लगानि गरेको छ । यस्तै सहकारी संस्थामा ३२ लाख ६५ हजार ८ सय रुपैयाँ शेयर पूँजी रहेको कार्यकारी प्रमुख बोहराले बताए ।




