बैतडी–बैतडीका जयप्रकाश पन्तले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
दशरथचन्द नगरपालिका–६ नगतडी घर भएका पन्तले लामो समय राप्रपाको राजनीति गरेका थिए । २०५६ सालमा समेत प्रतिनिधि सभाको उम्मेदवार भइसकेका पन्त आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिने बताए ।
विगत चार दशकदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै उनले अब दलीय तन्त्रले देशलाई निकास दिन नसक्ने बताए । जयप्रकाश पन्तले आफू भुइँमान्छेको प्रतिनिधि पात्रका रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीले बैतडी मात्र नभएर देशभर नै निर्वाचन प्रणाली सुधारका लागि एक नमुना सन्देश प्रवाह गर्ने दाबी गरेका छन् ।
पन्तले सार्वजनिक गरेको ९ बुँदे नमुना सन्देशमार्फत परम्परागत चुनावी अभ्यास भन्दा फरक, खर्च रहित र शान्तिपूर्ण निर्वाचनको अवधारणा अघि सारेका छन् । उनका अनुसार समाजसेवा वा राजनीतिमा सक्रिय तर आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई उम्मेदवार बन्न साहस र प्रेरणा मिलोस् भन्ने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिन लागेको बताएका छन् । अहिले धनीहरुले मात्रै चुनाव लड्न सक्ने वातावरण भएकाले त्यसका विरुद्ध आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
घोषणाअनुसार पन्तको उम्मेदवारी स्वयम् उपस्थित नभई प्रस्तावक र समर्थकमार्फत दर्ता गराइनेछ । निर्वाचन अवधिभर उनी मतदाता माझ शारीरिक रूपमा उपस्थित नहुने, कुनै पनि प्रकारका सवारी साधन प्रयोग नगर्ने र भोजभतेर तथा सार्वजनिक जमघट नगर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै पर्चा, पम्पलेट, झण्डा, ब्यानर, बोर्ड, लुगा कपडा तथा पर्खाल लेखनजस्ता प्रचार सामग्री पूर्ण रूपमा निषेध गरिने जनाइएको छ । निर्वाचन अवधिभर कसैलाई पनि उपहार, सौगात वा सम्मान नदिइने र मञ्च राखी सभा, सम्मेलन वा समारोह आयोजना नगरिने पन्तको भनाइ छ ।
पन्तका अनुसार यस अभियानको नतिजा स्वरूप निर्वाचन प्रणाली सुधारमा बैतडी जिल्लाको नाम उदाहरणका रूपमा लिइने, साधारण नागरिक सहजै उम्मेदवार बन्न सक्ने वातावरण सिर्जना हुने, हिंसा र फजुल खर्चमा कमी आउने तथा पूर्ण प्रजातन्त्रको अनुभूति जनस्तरमा हुने अपेक्षा गरिएको छ ।




