बैतडी–बैतडीमा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि १५ सयभन्दा बढीले आवेदन दिएका छन् ।
१ हजार ३७५ जना निर्वाचन प्रहरी माग भएकोमा १ हजार ५ सय ५१ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
माघ १ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकिएकोमा बैतडीमा उक्त समयभित्र मागभन्दा २ सय ५९ कम आवेदन परेका थिए । आवेदन दिने म्याद दुई दिन थप भएपछि प्रहरी र सशस्त्र प्रहरीतर्फ १ हजार ५ सय ५१ जनाले आवेदन दिएको प्रहरी निरीक्षक सिंहले बताए ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले निर्वाचन प्रहरी भर्नाका लागि निवेदन माग गरिएको थियो ।
बैतडीमा नेपाल प्रहरीतर्फ १ हजार २७९ जना र सशस्त्र प्रहरीतर्फ ९६ जना गरि १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा निर्वाचन प्रहरीको लागि १ हजार १६५ पुरुष र ३५६ महिलाहरूले आवेदन दिएका प्रहरी निरीक्षक सिंहले बताए ।
यस्तै, सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीमा एक सय ३० जनाले निर्वाचन प्रहरीको लागि आवेदन दिएको छ । २३ महिला र १०७ पुरुषले निर्वाचन प्रहरीको लागि आवेदन दिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए ।
आवेदन दिएकाहरूको सोमबारदेखि छनोट हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




