Sagun Khabar
बैतडी लगायत सुदूर पहाडमा हिमपात, डाँडाकाँडा सेताम्य

बैतडी-  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा लामो समयपछि हिमपात भएको छ । हिजो रातिदेखि परेको हिउँदे झरी तथा हिमपातले जिल्लाका डाँडाकाँडा सेताम्य बनेका छन् ।

बैतडी जिल्लाको सतबाँझ–मुस्याचोर,खोड्पे क्षेत्रसहित आसपासका स्थानमा हिमपात भएपछि मौसम अत्यन्तै चिसो बनेको छ । यस क्षेत्रबाट बैतडीका प्रसिद्ध धार्मिक स्थल ग्यालेक घुरा, रौलाकेदार, निङ्गलाशैनी भगवती देहिमाण्डौं लगायतका स्थानहरू स्पष्ट रूपमा देखिएका छन् । हिमपातले यी धार्मिक तथा प्राकृतिक स्थलहरूलाई थप आकर्षक बनाएको छ ।

लामो समयपछि परेको हिमपात कृषकहरूका लागि भने लाभदायक हुने अपेक्षा गरिएको छ । हिउँ पग्लिएपछि माटोमा चिस्यान कायम रहने भएकाले गहुँ, जौं, आलु लगायतका हिउँदे बालीका लागि फाइदा पुग्ने स्थानीय कृषकहरूले बताएका छन् ।

यद्यपि हिमपात र चिसोका कारण बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरी तथा चिसोले विद्युत प्रसारण लाइनमा समस्या आएपछि केही क्षेत्र अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातका कारण जनजीवन केही प्रभावित भए पनि प्राकृतिक रूपमा भने बैतडी लगायत सुदूर पहाडी जिल्लाहरू अहिले निकै सुन्दर देखिएका छन् ।

सेतो हिउँले ढाकिएका डाँडाकाँडा, कुहिरोले बेरिएका गाउँबस्ती र शान्त वातावरणले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई थप उजागर गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update