बैतडी- बैतडी सहित सुदूर पहाडमा लामो समयपछि परेको पानी सँगै हिमपातले कृषकहरू खुसि भएका छन् । यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् ।
गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका पाटन नगरपालिका वडा न १० का किसान गोबिन्द महराले बताए । हिउँ पग्लिएपछि माटोमा चिस्यान कायम रहने भएकाले गहुँ, जौं, आलु लगायतका हिउँदे बालीका लागि फाइदा पुग्ने स्थानीय कृषकहरूले बताएका छन् ।
बर्खेबाली मध्येको मकैमा जंगली जनावर क्षति पुर्याउँदा हरेक बर्ष उत्पादनमा कमी आउने गरेको छ । यहाँका अधिकांस जमिनमा आकासे पानीको भरमा खेती गरिँदै आएको छ ।
बैतडीमा १५ हजार ४ सय हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । यो मध्ये आधा भन्दा बढी जमीनमा सिँचाइको सुविधा छैन् । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए ।




