Sagun Khabar
तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन सुर्नया, हाजिर नहुने ‘मूड’मा जितेन्द्र विक 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र विक हाजिर नहुने मूडमा देखिएका छन् ।

झण्डै तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको सुर्नया गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २ गते जिल्ला हुलाक कार्यालय कैलालीमा कार्यरत विकलाई सरुवा गरेको थियो । 

मन्त्रालयले सरुवा गरेको दुई हप्ता बितिसक्दा समेत विक गाउँपालिकामा हाजिर भएका छैनन् । आफू बिरामी रहेकाले सकेसम्म वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको विकले बताए । 

अहिलेसम्म स्थानीय तहमा काम समेत नगरेकाले सकेसम्म हाजिर नहुने पक्षमा रहेको उनले बताए । सरुवा गर्दा मन्त्रालयले आफूखुसी सरुवा गरेको उनले बताए । उनले भने, ‘म आँफै बिरामी पनि छु । मन्त्रालयले सरुवा गर्दा एक पटक त सोध्नुपर्ने थियो । मलाई नसोधिकनै सरुवा गरिएको छ ।’

आफूले गाउँपालिका अध्यक्षलाई आफ्नो समस्याका बारेमा जानकारी गराइसकेको र वैकल्पिक व्यवस्था गर्न समेत भनिसकेको विकले बताए । 

यता गाउँपालिकामा कार्तिक २६ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु ठप्प रहेका छन् । कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, आकस्मिक भुक्तानी, विकास निर्माण लगायतका सबै कामहरु ठप्प रहेका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

मन्त्रालयले सरुवा गरेका जितेन्द्र विकसँग आफूले पनि सम्पर्क गरेको बताउँदै अध्यक्ष कुँवरले उनी गाउँपालिकामा आउन अनिच्छुक रहेको बताए । 

गएको कार्तिक २६ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका कामदेखि लिएर अन्य सबै कामहरु प्रभावित भएका छन् । 

यसअघि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएका खगेन्द्र भारतीको हाजिर नहुँदै जिल्ला निर्वाचन कार्यालयमा सरुवा गरिएको थियो । 

गाउँपालिकाले यही माघ २० गते कार्यपालिका बैठक बसेर केही निकास निकाल्ने गाउँपालिका अध्यक्ष कुँवरले बताए । मन्त्रालयले खटाएका अधिकृत हाजिर नभएपछि गाउँपालिकामै कार्यरत सिनियर कर्मचारीलाई जिम्मेवारी दिन मन्त्रालयलाई आग्रह गरिने उनले बताए ।  
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update