बैतडी–नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको बैठक बैतडीको दोगडाकेदारमा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको बैठकले ६ बुँदे घोषणापत्र जारी गरेको पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले बताए ।
बैठकले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रदेशभरीका सञ्चारकर्मी र मिडिया हाउसहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै स्थानीय तहहरुलाई सञ्चार माध्यम प्रवद्र्धन कार्यविधि बनाउन अनुरोध गर्ने निर्णय बैठकले गरेको महासंघका महासचिव शिवराज भट्टले बताए ।
सुदूरपश्चिमको दिगो विकाससँग जोडिएको पश्चिम सेती परियोजना, पञ्चेश्वर परियोजना, झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि दबाब सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै महाकाली करिडोरको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई दबाब दिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
बैतडी जिल्लाभित्र रहेका धार्मिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार–प्रसार, संरक्षण र आवश्यक संरचना निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
दोगडाकेदार गाउँपालिकामा रहेको फस्फोराइड खानीको उत्खनन र सम्भावित सिमेन्ट खानीको प्रशोधनका लागि उचित वातावरणको सिर्जना गर्न सरकारलाई दबाब दिने कुरा महासंघको घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै पुरातात्विक सम्पदाहरुको अभिलेखीकरण गर्ने कुरा समेत महासंघको ६ बुँदे घोषणापत्रमा उल्लेख गरिएको छ ।
महासंघको प्रदेश समिति बैठकपछि जारी गरिएको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयनका लागि सम्बन्धित निकायलाई दबाब दिइने महासंघका महासचिव भट्टले बताए ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको बैठकमा महासंघका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी र सदस्य, सल्लाहकार, विभिन्न जिल्लाका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।





