बैतडी –आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बैतडीमा एक हजार चार सय बढी कर्मचारी खटाइने भएको छ । जिल्लाभरी रहेका २ सय १४ ओटा मतदान केन्द्रमा १ हजार ४४२ जना कर्मचारी खटाउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले बताए ।
निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँका सरकारी कार्यालय र स्थानीय तहका शिक्षा शााखाहरुबाट कर्मचारीको विवरण संकलन गर्ने काम भइरहेको कार्यालय प्रमुख भारतीले बताए । निर्वाचनमा कर्मचारी परिचालन गर्न निजामती कर्मचारी र शिक्षकहरुको विवरण संकलनको काम भइरहेको उनले बताए ।
५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ८ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा ७ जना कर्मचारी खटाउने तयारी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार रहेका छन् । बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् ।
सुरक्षाको दृष्टिले बैतडीका ३३ ओटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।




