बैतडी–बैतडीमा निर्वाचन आचारसंहिताका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार आयोजना गरिएको छलफलमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
छलफल कार्यक्रममा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले विभिन्न स्थानमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु भइरहेकाले यसको निगरानी हुनुपर्नेमा जोड दिएका छन् । आफ्नो पार्टी निर्वाचन आचारसंहिता पालनामा कटिबद्ध रहेको बताउँदै उनले सबैले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले जिल्लामा राजनैतिक दलहरुबीच अहिलेसम्म सौहार्द वातावरण रहेको र यसलाई कायम राख्नुपर्नेमा जोड दिएका छन् । चुनावको मुखमा विभिन्न समूहबाट विभिन्न माग राख्ने प्रवृति रहेकाले यस्ता प्रवृति निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले सबैले आ–आफ्नो क्षेत्रबाट निर्वाचन आचारसंहिताको परिपालना गरेमा कुनै समस्या नआउने दाबी गरे । नागरिकदेखि उम्मेदवारसम्म सबैले आचारसंहिताको पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
छलफल कार्यक्रममा सहभागी नेपाली कांग्रेसका प्रतिनिधि महेन्द्र कार्कीले सामाजिक सञ्जालको दुरुपयोग गरेर आचारसंहिताको उल्लंघन भइरहेकाले यस्ता कार्य रोक्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता शंकर भण्डारीले विभिन्न दलहरुसँग आवद्ध शिक्षक÷कर्मचारी नै चुनावी प्रचारप्रसारमा रहेको पाइएकाले यो तर्फ सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले निर्वाचन आचारसंहितको परिपालना गर्नु सबैको कर्तव्य रहेको बताए । आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने उनले बताए ।
यस्तै उम्मेदवारहरुले निर्वाचनको समयमा गर्ने खर्चको सीमा आयोगले तोकेको र सोही अनुसार मात्रै खर्च गर्न पाइने व्यवस्था रहेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका सदस्य वासुदेव भण्डारीले बताए । उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिश खाता सञ्चालन गर्नुपर्ने र सोही खाताबाट खर्च गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउँदै उम्मेदवारहरुले पालना गर्नुपर्ने बिषयका बारेमा जानकारी गराए । सबैले आचारसंहिताको पालना गरेमा निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने उनले बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले निर्वाचन आचारसंहिताको परिपालना गर्नुपर्नेमा जोड दिँदै कसैले उल्लंघन गरेको पाइएमा उजुरी दिन आग्रह गरे । निर्वाचन आचारसंहितको अध्ययन गरेर सोही अनुसार निर्वाचन सम्बन्धी गतिविधि सञ्चालन गर्न उनले सम्वद्ध सबै पक्षलाई आग्रह गरे ।
बैतडीमा प्रतिनिधि सभा सदस्य पदका लागि एक स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा रहेका छन् । उम्मेदवारहरु अहिले घरदैलो अभियानमा व्यस्त रहेका छन् ।




