बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित मसानी मन्दिरमा हवनकुण्ड निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय आस्थावान व्यक्तिहरुबाट चन्दा संकलन गरेर हवनकुण्ड निर्माण कार्य गरिएको सूर्यपन्त,मसानी, तरैन्या धार्मिक संरक्षण सेवा समितिका अध्यक्ष कालुसिंह कार्कीले बताए ।
मन्दिरको हवनकुण्ड निर्माणमा ६ लाख ४ हजार ८ सय ८८ रुपैयाँ खर्च भएपनि ३ लाख ७० हजार ३ सय ३८ रुपैयाँमात्रै चन्दा संकलन भएको समितिका सचिव विक्रमसिंह कार्कीले बताए । अपुग रकम विभिन्न ठाउँमा तिर्न बाँकी रहेकाले आस्थावान व्यक्तिहरुलाई चन्दाका लागि आग्रह गरिएको उनले बताए ।
स्थानीयहरुको अगाध श्रद्धास्थलको रुपमा रहेको मसानी मन्दिरमा चन्दा संकलनबाट हवनकुण्ड निर्माण भएको हो ।
हवनकुण्ड निर्माणका लागि देश–विदेशमा रहेका श्रद्धालु व्यक्तिहरुले सहयोग गरेको र अझै पनि सहयोगको अपेक्षा रहेको अध्यक्ष कार्कीले बताए ।
यसअघि पनि उक्त मन्दिर क्षेत्रमा गेट निर्माण, बाटोघाटो निर्माण, खानेपानी र घेरपर्खाल निर्माण कार्य सम्पन्न गरिसकिएको छ ।
दोश्रो चरणमा सूर्यपन्त,मसानी, तरैन्या धार्मिक संरक्षण सेवा समितिले हवनकुण्ड निर्माणको काम गरेको कार्कीको भनाइ छ । स्थानीय संस्कृति, परम्परा, धार्मिक सम्पदाहरुको संरक्षणका लागि समितिले काम गरिरहेको कार्कीले बताए ।
पञ्ज्युनयाँस्थित मसानी मन्दिरलाई उक्त क्षेत्रको शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने प्रचलन रही आएको छ ।
मसानी मन्दिरमा निर्माण भइरहेको हवनकुण्डका लागि सहयोग गर्नहुने महानुभावहरुले तलको खातामा रकम जमा गर्न सक्ने समितिले जनाएको छ ।





