बैतडी–बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले हिउँदे फलफूलका बिरुवा विक्रि गर्न थालेको छ । हिउँदको समयमा रोपिने फलफूलका बिरुवा केन्द्रको नर्सरीबाट विक्रि भइरहेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख अर्जुन खड्काले जानकारी दिए ।
केन्द्रले सतबाँझस्थित नर्सरी र सुर्नया–२ कोटथलास्थित नर्सरीमा बिरुवा उत्पादनको काम गर्दै आएको छ । रोप्नका लागि योग्य भएका हिउँदे फलफूलका बिरुवाहरु विक्रि गर्ने कार्य भइरहेको कार्यालय प्रमुख खड्काले बताए ।
सुख्खा फलफूल विकास केन्द्रले कलमी दाते ओखर, स्याउ, नासपाती, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम लगायतका हिउँदे फलफूलका बिरुवा विक्रि गरिरहेको हो । यो बर्ष २१ हजार १४० बिरुवा विक्रि गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म १४ हजार बिरुवा विक्रि भइसकेका छन् ।
हिउँदे फलफूलका बिरुवा विक्रिबाट अहिलेसम्म १५ लाख रुपैयाँ राजस्व संकलन भएको सुख्खा फलफूल विकास केन्द्रका कम्प्युटर अपरेटर गणेश भट्टले बताए ।
सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा उत्पादित बिरुवा सुदूरपश्चिमका साथै देशका अन्य भागमा समेत विक्रि हुने गरेको कार्यालय प्रमुख खड्काले बताए ।
पौषदेखि फागुन महिनासम्म हिउँदे फलफूलका बिरुवा रोप्ने उपयुक्त समय रहेको उनले बताए । हिउँदे फलफूलका बिरुवा रोप्नुभन्दा पहिला १ घनमिटरको खाल्डो तयार पार्नुपर्ने र उक्त खाल्डोमा पाकेको गोबरमल राख्नुपर्ने खड्काले बताए ।
सुख्खा फलफूल विकास केन्द्र सुदूरपश्चिम एकमात्रै सरकारी फार्म रहेको कार्यालय प्रमुख खड्काले बताए । सुख्खा फलफूल विकास केन्द्रले बिरुवा उत्पादनका गर्नुका साथै किसानहरुलाई फलफूल खेतीका बारेमा तालिम समेत दिँदै आएको छ ।




