बैतडी –बिहीबार बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले मानवीय सहायता स्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा उपचार हुँदासम्म लाग्ने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णयसमेत गरेको छ ।
बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको सु–प–प्र–०२–००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।




