Sagun Khabar
बैतडीमा ३ सय ७२ भरुवा बन्दुक फिर्ता 

बैतडी–बैतडीमा ३ सय ७२ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले इजाजत प्राप्त हातहतियार फिर्ता बुझाउन आग्रह गरेको थियो । 

स्थानीय प्रशासनले यही माघ २० गतेसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गरिसक्नुपर्ने जनाएको भएपनि कसैले सूचना प्राप्त नगरेको यथाशीघ्र बन्दुक फिर्ता गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रहरी निरीक्षक बडूले बताए । इजाजत प्राप्त बन्दुक नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने उनले बताए । 

यसअघि जिल्ला सुरक्षा समितिले हातहतियार बुझाउन उर्दी जारी गरेको थियो । बुझाइएका बन्दुक चैत २० गतेपछि फिर्ता गरिने जनाएको छ ।

आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार फिर्ता बुझाउन भनिएको हो । निर्वाचनको संवेदनशील समयमा इजाजतप्राप्त हतियार पनि सुरक्षा जोखिमका कारण बन्न सक्ने आँकलनका आधारमा यस्तो कदम चालिएको प्रशासनको भनाइ छ ।

प्रशासनले प्रत्येक निर्वाचनको समयमा यस्तै प्रकृतिका सावधानीमूलक व्यवस्था गर्दै आएको र यसलाई नियमित सुरक्षात्मक अभ्यासका रूपमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।

आफूसँग भएका इजाजत प्राप्त हतियार यथाशीघ्र बुझाउन आग्रह गर्दै कसैले नबुझाएको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update