बैतडी –बिहीबार बैतडीको पुर्चौंडी नगरपालिका–७ बडगाउँमा भएको बस दुर्घटनामा परी घाइते भएका ३७ जना मध्ये १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । २१ जना घाइतेहरुको डडेल्धुरा र धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
घाइते भएका मध्ये १५ जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । डडेल्धुरा अस्पतालमा उपचार गराइरहेका एकजनालाई आज थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक बडूले बताए ।
बिहीबार पुर्चौंडी नगरपालिका –७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएका सबैको शव परीक्षण गरेर आफन्तलाई बुझाइसकेको प्रहरी निरीक्षक बडूले बताए ।
जन्ती बोकेको बस दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि बैतडी र बझाङका दुई गाउँ शोकमा डुबेका छन् । विवाहको खुसी साट्न नपाउँदै ठूलो बिपत्ती आएपछि दुवै गाउँ शोकमा डुबेका हुन् ।
क्षमता भन्दा बढी यात्रु, साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।




