बैतडी–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई ध्यानमा राखेर इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले फेरि आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै आफूसँग भएका हातहतियार यशाशीघ्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि माघ २० गतेसम्म हातहतियार बुझाउनका लागि प्रशासनले सूचना जारी गरेको थियो । तर उक्त मितिमा सबैले हातहतियार नबुझाएको पाइएकाले माघ मसान्तसम्म हातहतियार बुझाउने म्याद थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद भट्टराईले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार बैतडीमा १ हजार ८६ थान इजाजत प्राप्त हातहतियार रहेका छन् । इजाजत प्राप्त हतियारमा भरुवा बन्दुक रहेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
अहिलेसम्म ३ सय ८७ थान इजाजत प्राप्त भरुवा बन्दुक प्रहरीसँग पुगेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । आफूसँग भएका हातहतियार नजिकको प्रहरी युनिटमा बुझाउन आग्रह गरिएको उनले बताए ।
निर्वाचन सुरक्षाका लागि हातहतियार बुझाउन आग्रह गरिएको बताउँदै प्रहरी निरीक्षक बडूले समयमा हातहतियार नबुझाए कानुन अनुसार कारवाही हुने बताए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन सूचना मार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।
बुझाइएका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि फिर्ता गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।




