बैतडी–बैतडीमा परिवार योजना शिविर शुरु भएको छ । पञ्चेश्वर स्वास्थ्यचौकीबाट शिविरको शुरुवात गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बैतडीको आयोजना र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा स्थानीयस्तरमै नागरिकहरुलाई सेवा दिन शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए ।
मंगलबार पञ्चेश्वर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा १४ जना महिला र ५ जना पुरुष गरि १९ जनाले सेवा लिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । व्यवस्थित परिवार बनाउन चाहने पुरुष तथा महिलाहरुका लागि शिविरमा निशुल्क स्थायी बन्ध्याकरण सेवा दिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुका लागि भ्यासेक्टोमी सेवा शिविरमार्फत सञ्चालन भइरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
यस्तै माघ २९ गते सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्यचौकी, फागुन १ गते दोगडाकेदार गाउँपालिकाको श्रीकोट स्वास्थ्यचौकी, फागुन २ गते पुर्चौंडी नगरपालिकाको कुवाकोट स्वास्थ्यचौकी र फागुन ४ गते हाट स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरिने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।
यस्तै फागुन ६ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी र फागुन ७ गते पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने बताइएको छ ।
आफ्नो क्षेत्रमा शिविर सञ्चालन भएको समयमा सेवा लिन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । मिनिल्याप गराउन चाहने महिलाहरुले शिविर सेवा लिन आउँदा भोको पेट आउनुपर्ने र एक जना सहयोगीसहित आउनुपर्ने खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
यस्तै उक्त शिविरमा आवश्यकता अनुसार सुरक्षित गर्भपतन सेवा समेत दिइने बताइएको छ ।




