बैतडी–बैतडीका ८४ ओटै वडामा मतदाता शिक्षा स्वयंसेवक खटाउने तयारी भएको छ ।
निर्वाचन आयोगको कार्यक्रम अनुसार आगामी फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा आउने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए ।
प्रत्येक वडामा एकजना मतदाता शिक्षा स्वयंसेवक खटाउने तयारी रहेको उनले बताए । मतदाता शिक्षा स्वयंसेवक छनौट गरेर उनीहरुलाई आवश्यक तालिम दिने काम स्थानीय तहहरुले गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका बिषयमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र निर्वाचन सम्पर्क व्यक्तिहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको र उनीहरुले आफ्नो स्थानीय तहमा मतदाता शिक्षा स्वयंसेवकहरुलाई तालिम दिने काम गरिरहेको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।
मतदाता शिक्षा स्वयंसेवकहरुले नमूना मतपत्रसहित मतदाताहरुलाई मतदान गर्ने बिषयमा जानकारी गराउनेछन् । यस्तै बदर मतको संख्या घटाउनका सही तरीकाले मतदान गर्ने बिषयमा उनीहरुले मतदाताहरुलाई सिकाउने जिल्ला निर्वाचन अधिकारी भारतीले बताए ।
फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत स्वयंसेवकहरुले टोल भेला र घरदैलो गरेर मतदाताहरुलाई मतदानका बिषयमा जानकारी गराउने बताइएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउने र बदर मतको संख्या घटाउने लगायतका उद्देश्य राखेर मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइन लागेको भारतीले बताए ।
यसअघि मंगलबार जिल्ला निर्वाचन कार्यालयले एक कार्यक्रमको आयोजना गरेर मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बिषयमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र निर्वाचन सम्पर्क व्यक्तिहरुसँग छलफल गरेको थियो ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि ११ जना चुनावी प्रतिस्पर्धा रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




