Sagun Khabar
बैतडीमा निर्वाचन प्रहरीका लागि आधारभूत तालिम सकियो, प्रहरीसँगै ड्युटीमा खटाइयो 

बैतडी–बैतडीमा निर्वाचन प्रहरीका लागि आयोजना गरेको १० दिने आधारभूत तालिम सकिएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि छनौट गरिएको  निर्वाचन प्रहरीका लागि सञ्चालन गरिएको तालिम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

बैतडीमा नेपाल प्रहरीतर्फ १ हजार २७९ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना गरेर १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिएका छन् । 

उनीहरुलाई तालिमको अन्तिम दिन मंगलबार नमूना अभ्यासहितको तालिम दिइएको प्रहरी निरीक्षक सिंहले बताए । मतदानको दिन हुन सक्ने सम्भाव्य घटनाहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा निर्वाचन प्रहरीलाई नमूना अभ्यासहितको तालिम दिइएको उनले बताए । 

तालिमपछि निर्वाचन प्रहरीलाई तत्कालका लागि प्रहरी युनिटमा प्रहरीसँगै ड्युटीमा खटाइएको छ । मतदान हुनुभन्दा एक हप्ता अगाडिबाट सम्बन्धित मतदान केन्द्रहरुमा अन्य सुरक्षा निकायसँगै निर्वाचन प्रहरीलाई पनि खटाइने प्रहरी निरीक्षक सिंहले बताए । 

बैतडीमा १२९ ओटा मतदानस्थल र २ सय १४ ओटा मतदान केन्द्र कायम गरिएका छन् । जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील,संवेदनशील र सामान्य गरेर मतदानस्थलाई तीन तहमा वर्गीकरण गरेको छ । 

जिल्लामा ३३ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् भने २८ ओटा संवेदनशीलको सूचीमा रहेका छन् । यस्तै ६८ ओटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।  
 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update