बैतडी–बैतडीमा बसको ढोकबाट खसेर एकजनाको मृत्यु भएको छ ।
महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ बर्षीय पदमराज भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहीबार साँझ पौने ५ बजेतिर बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए । तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव अस्पतालमै राखिएको छ ।
भट्टको टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




