Sagun Khabar
स्थानीय तहको कार्यसम्पादन मूल्यांकन : बैतडीमा दोगडाकेदार पहिलो 

बैतडी –राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरुको कार्यसम्पादन मूल्याकंनको नतिजा सार्वजनिक गरेको छ । विभिन्न १७ ओटा सूचकमा आधारित रहेर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गरिएको आयोगले जनाएको छ । 

आयोगले प्रकाशन गरेको नतिजा अनुसार बैतडीका १० ओटा स्थानीय तहमध्ये दोगडाकेदार गाउँपालिका ६० दशमलव ५२ अंकसहित जिल्लामा पहिलो भएको छ । यस्तै ४० दशमलव ३८ अंक ल्याएर डिलाशैनी गाउँपालिका पुछारमा रहेको छ । 

आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार पाटन नगरपालिकाले ५९ दशमलव ७० अंक ल्याएको छ भने शिवनाथ गाउँपालिकाले ५९ दशमलव ४४ अंक प्राप्त गरेको छ । 
यस्तै मेलौली नगरपालिकाले ५७ दशमलव १६ अंक ल्याउँदा सुर्नया गाउँपालिकाले ५२ दशमलव ४६ अंक ल्याएको छ । 

कार्यसम्पादन मूल्यांकनमा पुर्चौंडी नगरपालिकाले ४८ दशमलव ६९, दशरथचन्द नगरपालिकाले ४८ दशमलव ५८, पञ्चेश्वर गाउँपालिकाले ४८ दशमलव ५१ र सिगास गाउँपालिकाले ४६ दशमलव ७१ अंक ल्याएको छ । 

आयोगले विभिन्न सूचकहरु तय गरेर मूल्यांकन गरेको जनाएको छ । जसमा पालिकाहरूले २०८२ असार १० गतेभित्र आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा पेस गरे–नगरेको, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०८२ असार मसान्तभित्र पारित गरे–नगरेको सूचक राखिएका छन् ।

यस्तै स्थानीय तहहरुले प्रदेश सरकारलाई दिनुपर्ने विभिन्न करबापतको रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जमा गरे÷नगरेको, यस्तै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भर्नादर, चार पटक गर्भजाँच गराउने आमाको संख्या, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको अनुपातलाई समेत आयोगले सूचक बनाएको छ ।

Suchak--1770960203.jpg
Palika--1770960232.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update