बैतडी– बैतडीमा माघ महिनामामात्रै ९ ओटा सवारी दुर्घटना भएका छन् । जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक महिनाको अवधिमा भएका ९ ओटा सवारी दुर्घटनामा परेर ४४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
बैतडीको पुर्चौंडीमा माघ २२ गते भएको जन्ती बस दुर्घटनामा मात्रै १३ जनाको मृत्यु भएको थियो । अन्य तीन जनाको अन्य सवारी दुर्घटनामा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए ।
एक महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ९६ सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट जरीवानाबाफत ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ग्रामीण कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने,प्राविधिक समस्या लगायतका कारण सवारी दुर्घटना हुने गरेका प्रहरीले जनाएको छ । माघ महिनामा भएका ९ ओटा सवारी दुर्घटनामध्ये ७ ओटा चालककै लापरवाहीका कारणले भएको प्रहरीले विश्लेषण गरेको छ । यस्तै सवारी साधनको प्राविधिक समस्याका कारण एक दुर्घटना भएको बताइएको छ भने यात्रुका कारण एक सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।




