बैतडी–बैतडीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमध्ये ६ जना उम्मेदवारले अझै बैंक खाता खोलेका छैनन् ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को (ख)मा उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर आम्दानी तथा खर्च गर्न पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर चुनावका बेला खर्च गर्न पाउने जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए ।
तर बैतडीका ११ जना उम्मेदवारमध्ये अहिलेसम्म ५ जनाले मात्रै खाता खोलेका छन् भने ६ जनाले अहिलेसम्म खाता नखोलेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
बैक खाता नखोल्नेमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नवराज कोइराला, आमजनता पार्टीका उम्मेदवार विसनसिह बोहरा, नेकपाका उम्मेदवार परमानन्द भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार रामबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्त रहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द, राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार आनसिंह भण्डारी, रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी र श्रमसंकृति पार्टीका उम्मेदवार गजेन्द्रराज पाण्डेयले भने बैंक खाता खोलिसकेका छन् ।
बैंक खाता नखोल्ने उम्मेदवारहरुलाई यही फागुन ५ गतेभित्र खाता खोलिसक्न आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए । शनिबार बसेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले बैंक खाता नखोलेका उम्मेदवारहरुलाई खाता खोल्न आग्रह गर्ने निर्णय गरेको थियो ।
निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावको समयमा गर्ने आम्दानी र खर्च सोही बैंक खाताबाट गर्नुपर्ने हुन्छ । निर्वाचन सम्पन्न भएपछि आयोगलाई बुझाउने खर्च विवरण समेत सोही बैंक खाताका आधारमा बुझाउनुपर्ने दयालले बताए ।
उम्मेदवारले चुनावी प्रयोजनका लागि बैंक खाता खोल्नु अनिवार्य रहेकाले निर्वाचन आचारसंहिता अनुगमन समितिले खाता नखोलेका उम्मेदवाहरुलाई यथाशीघ्र खाता खोल्न आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता अनुसार कुनैपनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्छ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कमको नगदै लेनदेन गरे पनि रसिदहरू भने दाखिला गर्नुपर्ने हुन्छ ।




