Sagun Khabar
बैतडीमा ४ सय ७ थान भरुवा बन्दुक फिर्ता 

बैतडी –बैतडीमा ४ सय ७ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले इजाजत प्राप्त हातहतियार फिर्ता बुझाउन आग्रह गरेको थियो । 

स्थानीय प्रशासनले गएको माघ मसान्तसम्म इजाजत प्राप्त हातहतियार फिर्ता गर्न सूचना जारी गरेको थियो । अहिलेसम्म ४ सय ७ थान हतियारमात्रै फिर्ता बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रहरी निरीक्षक सिंहले बताए । इजाजत प्राप्त बन्दुक नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने उनले बताए । कसैले सूचना प्राप्त नगरेको भएमा अझै पनि इजाजत प्राप्त हातहतियार बुझाउन सकिने प्रहरी निरीक्षक सिंहले बताए ।

आसन्न निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित हातहतियार फिर्ता बुझाउन भनिएको हो । निर्वाचनको संवेदनशील समयमा इजाजतप्राप्त हतियार पनि सुरक्षा जोखिमका कारण बन्न सक्ने आँकलनका आधारमा यस्तो कदम चालिएको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार बैतडीमा १ हजार ८६ थान इजाजत प्राप्त हातहतियार रहेका छन् । तर ती मध्ये आधा भन्दा कममात्रै हतियार प्रहरीमा बुझाइएको छ ।

निर्वाचन सुरक्षाका लागि हातहतियार बुझाउन आग्रह गरिएको र हतियार नबुझाउनेलाई कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । 

बुझाइएका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने प्रशासनले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update