बैतडी –भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल निर्माणको कुरा केही बर्ष यता चुनावी एजेण्डा बन्दै आएको छ । झुलाघाट नाकामा मोटरबेल पुल बन्नुपर्ने यहाँका स्थानीयहरुको माग रही आएको भएपनि त्यो माग अहिले सम्म पूरा हुन सकेको छैन् ।
विगतका निर्वाचनदेखि झुलाघाटमा पक्की पुल निर्माणका कुरा राजनीतिक दलहरुले चुनावी एजेण्डा बनाउने गरेका छन् । विगतका निर्वाचनहरुमा समेत झुलाघाटमा पक्की पुल निर्माणको कुरा उठाएका दलका नेताहरु यो चुनावमा पनि यो पक्की पुल निर्माणको कुरा उठाइरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले आफूले निर्वाचन जितेमा झुलाघाटमा पक्की पुल निर्माण गर्ने दाबी गरेका छन् । अहिलेसम्मका प्रतिनिधिहरुले पहल नगरेकै कारण झुलाघाटमा मोटरेबल पुल नबनेको उनको जिकिर छ । उनले भने, ‘दार्चुलामा पुलहरु बन्ने, बैतडीमात्रै नबन्ने भन्ने हुन्छ ? हाम्रो पहलकदमी पुगेन् । यहाँका नागरिकले मत दिएर पठाउनुभयो भने मेरो मुख्य एजेण्डा झुलाघाटमा पक्की पुल हुन्छ ।’
अघिल्लो निर्वाचनमै झुलाघाटमा मोटरेबल पुल बनाउने चुनावी एजेण्डा राखेका एमालेका दामोदर भण्डारी अहिले पनि चुनावी मैदानमा छन् । बैतडीबाट लगातार तिन पटक निर्वाचन जितेका भण्डारीले आफ्नो त्यो चुनावी बाचा भने पूरा गर्न सकेका छैनन् ।
२०७९ सालको निर्वाचनमा बैतडीको पाटनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा मोटरेबल पुल निर्माण हुने दाबी गरेका थिए ।
नेकपाका उम्मेदवार परमानन्द भट्टले पनि यो क्षेत्रको विकासका लागि झुलाघाटमा मोटरबल पुल बन्न आवश्यक रहेको बताए । दुई देशबीचको सीमा नदी भएकाले भारतलाई यसमा सहमत गराएर पुल निर्माण हुनुपर्ने उनले बताए ।
झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि उद्योग वाणिज्य संघको अगुवाईमा एक महिने रिले अनशन समेत सञ्चालन भएको थियो । त्यो अनशनमा सांसद लगायत पार्टीका नेताहरु पुगेर झुलाघाटमा पक्की पुल बनाउन पहल गर्ने आश्वासन दिएका थिए ।
झुलाघाटमा पक्की पुल निर्माणको माग यहाँका जनताको धेरै बर्ष पहिलादेखिको भएपनि अहिले सम्म पूरा हुन नसकेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले बताए । भारतले तयार नहुँदा सम्म यो पुल निर्माण हुने कुरामा विश्वास नरहेको उनको भनाइ छ । उद्योग वाणिज्य संघकै पहलमा १० हजार नागरिकको हस्ताक्षर सहित भारतीय दूतावास र नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदा समेत यो माग पूरा नभएको उनको भनाइ छ ।
झुलाघाट नाका पुरानो नाका हो । यो नाका भएर अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु रोजगारीका लागि भारत जाने गरेका छन् । यो नाकामा पक्की पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा समेत असर परीरहेको छ । तर पुल निर्माणको कुरा चुनावी ऐजेण्डा मात्रै बन्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । झुलाघाटमा पक्की पुल निर्माणको कुरा चुनावका बेला जहिले पनि उठ्ने गरेको तर काम नहुने एजेण्डाको रुपमा रहेको स्थानीय पुष्कर भट्टले बताए ।
झुलाघाटमा नाकामा डेढ सय बर्षभन्दा पुरानो झोलुंगे पुल रहेको छ । इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुल जीर्ण भइसकेको छ ।




