बैतडी–फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीमा १ हजार २ सय ८८ जना कर्मचारी खटाइएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीहरुको अन्तिम सूची प्रकाशन गरिसकेको सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तले जानकारी दिए ।
निर्वाचनका लागि खटाइएका कर्मचारीहरुलाई यही फागुन १५ र १६ गते तालिम दिइने र त्यसपछि मतदान केन्द्रमा पठाइने सहायक निर्वाचन अधिकृत पन्तले जानकारी दिए ।
फागुन १८ गते मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने बताइएको छ ।
५ सय बढी मतदाता भएको केन्द्रमा ६ जना, ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ५ जना र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यायले जनाएको छ ।
निर्वाचनमा खटिने कर्मचारीहरुको प्रारम्भिक सूची फागुन ७ गते प्रकाशन गरेको र आइतबार सूचीलाई अन्तिम रुप दिएर प्रकाशन गरिएको पन्तले जानकारी दिए ।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २ सय १४ ओटा मतदान केन्द्र रहेका छन् ।
जिल्लामा निर्वाचनका लागि मत पत्र र अन्य सामग्री यसअघि नै पुगिसकेका छन् । जिल्लामा निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




