बैतडी –बैतडीमा २० जनालाई छोटो अवधिको बिल्डिङ इलेक्ट्रीसियन तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक शिक्षालयको रुपमा रहेको भीमदत्त बहुप्राविधिक शिक्षालय पाटनले उक्त तालिम दिएको हो ।
६५ दिनको छोटो अवधिको उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो । उनीहरुलाई तह (१)को छोटो अवधिको तालिम दिइएको भीमदत्त बहुप्राविधिक शिक्षालय पाटन,बैतडीका शिक्षालय प्रमुख जीवनदत्त पन्तले बताए ।
तालिम लिएकाहरुको राष्ट्रिय सीप परीक्षण समितिले परीक्षा लिने र उक्त परीक्षामा उत्तीर्ण भएकाहरुलाई तह (१)को प्रमाणपत्र प्रदान गरिने पन्तले बताए । तालिममा सहभागी भएकाहरुको सीप परीक्षाका लागि फारम भरिएको छ ।
उक्त परीक्षामा उत्तीर्ण भएकाहरुलाई वैदेशिक रोजगारीमा समेत सहजता हुने बताइएको छ ।
भीमदत्त बहुप्राविधिक शिक्षालयले हरेक बर्ष छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । यो बर्ष बिल्डिङ इलेक्ट्रीसियन तालिम सम्पन्न गरिएको छ भने च्याउ उत्पादनसम्बन्धी तालिम सञ्चालनमा रहेको छ ।
छोटो अवधिकै पलम्बिङ सम्बन्धी तालिम चुनावपछि सञ्चालन गर्ने तयारी रहेको शिक्षालय प्रमुख पन्तले बताए । स्थानीयहरुको मागको आधारमा छोटो अवधिको तालिम सञ्चालन हुँदै आएको उनले बताए ।
भीमदत्त बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी, सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एग्रीकल्चरको पढाइ हुने गरेको छ । सोही पढाइको आधारमा छोटो अवधिको तालिम समेत सञ्चालन गरिँदै आएको पन्तले बताए ।
छोटो अवधिको तालिमबाट स्थानीय नागरिक लाभान्वित हुँदै आएका छन् ।




