Sagun Khabar
बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु 

बैतडी –बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका– ६ घर भएका ३८ बर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको हो । 

निर्वाचन प्रहरीको तालिमपछि भट्टलाई इलाका प्रहरी कार्यालय मेलौली मातहत खटाइएको थियो । सोमबार साँझ ड्युटी सकेर घर फर्किएका भट्ट एक्कासी घरमै बेहोस भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

बेहोस भएपछि भट्टलाई उपचारका लागि एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । तर स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले राति १२ बजेर ५ मिनेटमा भट्टलाई मृत घोषणा गरेका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको छ । यहीँ फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ बर्षीय महादेव ओडको मृत्यु भएको हो । ओड पनि घरमै अचेत अवस्थामा फेला परेका थिए । 

यस्तै गएको माघ २० गते  दशरथचन्द नगरपालिका–४ का ३२ बर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update