Sagun Khabar
बैतडीमा घाइते चितुवाको उद्धार 

बैतडी–बैतडीमा घाइते अवस्थामा भेटिएको चितुवाको तीन दिनपछि उद्धार गरिएको छ । 

जिल्लाको सिगास गाउँपालिका–१ खरकेउडास्थित खोल्सामा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरेर डडेल्धुरा पुर्याइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले बताए । 

यही फागुन १० गते घाइते अवस्थामा चितुवा भेटिएको जानकारी प्राप्त भएपछि सोमबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय शुक्लाफाँटाबाट प्राविधिकहरुको टोली मगाएर चितुवाको उद्धार गरिएको गिरीले बताए । 

डिभिजन वन कार्यालयका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारी र डडेल्धुराबाट आएका पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उद्धार गरेको हो । घाइते अवस्थामा भेटिएको चितुवाको अगाडि एक खुट्टा फ्याक्चर भएको छ । डार्ट गरेर चितुवालाई नियन्त्रणमा लिइएको गिरीले बताए । 

घाइते चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुरामा खोरमा राखेर उपचार कार्य जारी रहेको छ । उपचारपछि चितुवालाई जंगलमा छोडिने बताइएको छ । 

उक्त चितुवा पासोमा फसेर घाइते भएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयहरुले वन्यजन्तुका लागि थापेको पासोमा चितुवा परेको हुन सक्ने बताइएको छ । यो बर्ष मात्रै बैतडीमा पासोमा फसेका तीन चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको छ । जंगल क्षेत्रमा चितुवाका लागि पाइने आहाराको कमी भएपछि मानवबस्तीमा पस्न थालेको गिरीले बताए । यसले मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update