बैतडी–बैतडीको पाटनमा रहेको भीमदत्त बहुप्राविधिक शिक्षालयको सातौं बार्षिकोत्सव तथा ३८ औं सिटीइभीटी दिवस विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।
शिक्षालय प्रमुख जीवनदत्त पन्तको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्ण थापा प्रमुख अतिथी रहेका थिए । समारोहमा पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट र नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेय बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव तथा सिटीइभीटी दिवसको अवसरमा सञ्चालन भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको शिक्षालय प्रमुख पन्तले बताए ।
भीमदत्त बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी, सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एग्रीकल्चरको पढाइ हुने गरेको छ । सोही पढाइको आधारमा छोटो अवधिको तालिम समेत सञ्चालन गरिँदै आएको पन्तले बताए ।
शिक्षालयमा अहिले अढाइ सय विद्यार्थी अध्ययनरत रहेका छन् । पाटनमै सिटीइभीटीको आंगिक शिक्षालयको रुपमा भीमदत्त बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएपछि यहाँका विद्यार्थीहरुको प्राविधिक शिक्षामा पहुँच बढ्दै गएको छ ।




