Sagun Khabar
जिल्ला अस्पताल बैतडीको प्रमुखमा डा.अरविन्द जोशी 

बैतडी –जिल्ला अस्पताल बैतडीको प्रमुखमा डा. अरविन्द जोशी हाजिर भएका छन् । डा. जोशी केही दिन पहिला जिल्ला अस्पतालको प्रमुखको रुपमा हाजिर भएका हुन् । 

जिल्ला अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले पहिलो पटक नवौं तहका स्थायी चिकित्सकलाई मेडिकल सुपरिटेण्डेन्टको रुपमा पाएको हो । 

प्रदेश लोक सेवा आयोगमार्फत नवौं तहमा नियुक्त भएका डा. जोशी जिल्ला अस्पतालमा प्रमुखको रुपमा हाजिर भएका जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । यसअघि जिल्ला अस्पताल निमित्त मेडिकल सुपरिटेण्डेन्टको भरमा सञ्चालनमा रहेको थियो । 

जिल्ला अस्पतालमा हाजिर भएका डा. जोशीले अस्पतालको सेवालाई प्रभावकारी र विश्वसनीय बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । अस्पतालले प्रदान गर्ने सबै सेवालाई गुणस्तरीय रुपमा सञ्चालन गरिने डा. जोशीले बताए । 

अस्पतालमा हाजिर भएका डा. जोशीलाई एक कार्यक्रमकाबीच स्वागत समेत गरिएको छ । 

जिल्ला अस्पतालमा डा. जोशीसहित चार जना बिशेषज्ञ कार्यरत रहेका छन् भने ६ जना अन्य मेडिकल अधिकृत कार्यरत रहेका छन् । यो सँगै जिल्ला अस्पतालमा १० जना चिकित्सक कार्यरत रहेका सूचना अधिकारी पन्तले बताए । 

जिल्ला अस्पतालको प्रमुखको रुपमा कार्यरत रहेका डा.जोशी जनरल फिजिसियन हुन् । यस्तै एकजना अर्का जनरल फिजिसियन, एक जना स्त्री रोग बिशेषज्ञ र एक जना हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ गरेर चार जना बिशेषज्ञ चिकित्सक जिल्ला अस्पतालमा कार्यरत सूचना अधिकारी पन्तले बताए ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update