बैतडी –बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर तीन जना घाइते भएका छन् ।
चुनाव प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना र रास्वपाका एकजना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच बुधबार बेलुकी झडप भएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
झडपमा परी घाइते हुनेमा डिलाशैनी –७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी रहेका छन् । यस्तै रास्वपा समर्थक ४० बर्षीय लालबहादुर धामी पनि घाइते भएका प्रहरीले जनाएको छ ।
चुनाव प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्ने क्रमामा दुवै पक्षबीच झडप भएको प्रहरी निरीक्षक सिंहले बताए ।
घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको छ भने लालबहादुरको टाउकोमा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।
घटनामा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
चुनावको समयमा संयमित भएर प्रचारप्रसार जुट्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी थापाले कानुन हातमा लिने काम नगर्न आग्रह गरेका छन् । कानुन विपरीतका काम गर्नेलाई कारवाही हुने उनले स्पष्ट पारेका छन् ।




