Sagun Khabar
बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप : घाइते दुई जनाको धनगढीमा उपचार हुँदै, पाँच जना पक्राउ  

बैतडी–बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका दुई जनाको धनगढीमा उपचार भइरहेको छ । 

चुनाव प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच बुधबार झडप हुँदा एमालेका दुई जना र रास्वपाका एकजना कार्यकर्ता घाइते भएका थिए । 

झडपमा परी घाइते भएका डिलाशैनी –७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ बर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ बर्षीय माधव धामीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । उनीहरुको गोकुलेश्वर अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारका लागि धनगढी लगिएको हो । 

यस्तै झडपमा परी सामान्य घाइते भएका रास्वपा समर्थक ४० बर्षीय लालबहादुर धामी उपचारपछि डिस्चार्ज भएका छन् । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धामीसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए । 

डिलाशैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच बुधबार बेलुकी झडप भएको थियो । 

चुनाव नजिक आएका बेला एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएपछि जिल्ला उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी निरीक्षक सिंहले बताए । 

झडपपछि एमाले र रास्वपाले अलग–अलग विज्ञप्ती निकाल्दै घटनामा संलग्नहरुको पहिचान गरी कारवाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले घटना हुनुमा एक अर्कालाई आरोप समेत लगाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update