Sagun Khabar
प्रतिनिधि सभा निर्वाचन : बैतडीमा नेपाली सेनाको मोटरसाइकल गस्ती

बैतडी –फागुन २१ गते हुने निर्वाचनलाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखेको छ । 

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बैतडीमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको छ । चुनावी सुरक्षा योजना अनुसार जिल्लाका शहरी क्षेत्रमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको बैतडीस्थित श्रीबक्स गुल्मका गुल्मपति,सेनानी पुष्प लामाले जानकारी दिए । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका,सुर्नया गाउँपालिकाका बजार क्षेत्रमा नेपाली सेनाले मोटरसाइकल गस्ती गरिरहेको सेनानी लामाले बताए । जिल्लाका अन्य बजार क्षेत्रमा पनि सेनाले मोटरसाइकल गस्ती सञ्चालन गर्ने योजना रहेको उनले बताए । 

निर्वाचनको मिति नजिक आएका बेला स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन नेपाली सेनाले जिल्लाका १० ओटै तहमा बेस क्याम्प खडा गरेको सेनानी लामाले बताए । बेस क्याम्पमा रहेको नेपाली सेनाले आवश्यकता अनुसार गस्ती गर्नुका साथै अन्य सुरक्षा फौँजसँगको समन्वयमा संयुक्त गस्ती गरिरहेको बताइएको छ । 

जिल्लामा निर्वाचनका लागि २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । आवश्यकता अनुसार सुरक्षाकर्मी थप परिचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

जिल्लामा चुनावको समयमा हुन सक्ने विभिन्न अवाञ्च्छित क्रियाकलापहरुलाई रोक्नका लागि जिल्ला सुरक्षा समितिले योजना अनुसार काम गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । 

गएको बुधबार डिलाशैनीमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएपछि जिल्ला उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । अब त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायले चनाखो भएर काम गरिरहेको थापाले बताए । 

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update